काठमाडौँ, २४ जेठ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले विभिन्न माग राख्दै आउँदो असार २ गतेदेखि बैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बिहिबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् ।
‘वैदेशिक रोजगारीमा गएकाहरूको रगत र पसिनाले साटिएको रेमिटेंसले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाइ नभएपछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’ साहले भने ।
आईटी आर्मीले २०८० साल जेठ २८ गते काठमाडौँ उपत्यकामा खबरदारी र्याली मार्फत संघर्षको उठान गरेको थियो । २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे माग गरेको सहितको ध्यानाकर्षणपत्र बुझाएको थियो ।
‘हामीले विभिन्न माग गरेपनि बिडम्बना सो विषम समस्याको ठोस एवं दीर्घकालीन समाधान गर्नुको सट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेको भान हामीलाई भइरहेको छ’ साहले भने ।
आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश/नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेलगायतका माग गरेको छ ।
असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने घोषणा गरेको आईटी आर्मीले जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ ।