जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ ।
जनमतले सतिशकुमार सिंहलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडि सारेको छ ।
मधेशमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको हो ।
सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् । यसअघि उनी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष थिए ।