सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २३ गते
पछिल्लो एक सातामा कच्चा तेलको मूल्यमा औसत ८ प्रतिशतको गिरावट आएको छ। डब्लूटीआई कच्चा तेलको मूल्य ८.३ प्रतिशतले घटेर, जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलरबाट बुधबार बिहान १० बजे ७३.२० डलरमा झरेको छ।
ब्रेन्ट तेलको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। यो मूल्य प्रतिब्यारेल ८३.९४ डलरबाट घटेर ७७.४९ डलरमा झरेको छ। मुर्बान कच्चा तेलको भाउमा समेत कमी आएको छ, जसअनुसार यसको मूल्य प्रतिब्यारेल ८५.३ डलरबाट घटेर ७८.०३ डलरमा पुगेको छ।
पेट्रोलियम मौज्दातको वृद्धि कच्चा तेलको मूल्यमा गिरावटको मुख्य कारण बनेको छ। सञ्चारमाध्यम आयलप्राइसका अनुसार, अमेरिकी ऊर्जा विभागका तथ्यांकले अमेरिकामा हाल तेलको मौज्दात ३४ करोड ब्यारेल पुगेको देखाएको छ, जुन मे ३१ यताकै उच्च स्तर हो। तेलको मौज्दात घटाउनुपर्ने दबाबका कारण बजारमा मूल्यमा गिरावट आएको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालको बजारमा पनि प्रत्यक्ष असर पार्नेछ। कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई आपूर्ति गर्ने तेलको मूल्यमा पनि कमी आउने सम्भावना बढ्दछ। नेपाल आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गर्दै आएकोले, अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनले नेपालको पेट्रोलियम उत्पादनको मूल्यमा प्रभाव पर्नेछ।
यसरी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपाली उपभोक्तालाई राहत मिल्न सक्ने देखिन्छ।