सामाजिक फीड,
जनकपुरधाम, २१ जेठ । कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने भएको छ । सोमबारबाट सुरु भएको मधेश प्रदेशसभाको तेश्रो अधिवशेनको पहिलो बैठकले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने निर्णय गरेको हो ।
उपेन्द्र यादवले गरेको भवन शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा तत्कालीन शिक्षामन्त्री तथा जनमतका सांसद् महेशप्रसाद यादवसहित घाइते भएका थिए । त्यस्तै, वैशाख ४ गतेको बैठकमा जनमत पार्टीका सांसद्हरूले छानबिन समितिको माग गर्दै प्रदेशसभामा तोडफोड गरेका थिए ।
यी दुबै घटनाको छानबिन हुने भएको हो । समितिमा सबै दलका प्रतिनिधि समावेश हुने पनि सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । जनमत पार्टीले राजविराजमा भएको घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो ।
यसअघि, सोमबार बैठक बसेलगतै जनमत पार्टीका सांसद्हरू छानबिन समितिको माग गर्दै बैठक बैठक अवरुद्ध पारेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि दुबै घटनाको छानबिन प्रदेश मामिला समिति मार्फत गर्न दलहरू सहमत भएका थिए । यो समिति गठनसँगै मधेश प्रदेश सभाको गतिरोध हटेको छ ।