सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते ।
जनकपुरमा दिनदहाडै ८० लाख रुपैँया लुटपाट घटनाका मुख्य योजनाकारलाई प्रहरीले अझैपनि नियन्त्राण्मा लिन सकेको छैन ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको छ ।
तीमध्ये प्रहरीले तीनजनालाई मात्रै नियन्त्रणमा लिन सकेको छ । धनुषाको मिथिला नगरपालिकाका जनक महतो, जनकपुर बस्दै आएका महोत्तरीे औरही नगरपालिकाका श्रवण कापर र भारत विहार सितामढी जिल्लाका सन्तोष मिश्रलाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको हो ।
दुई जना पक्राउ परेपछि धनुषा प्रहरीले अधुरो अनुसन्धानको भरमै उनीहरुलाई वैशाख ३० मा सार्वजनिक गरेको थियो । पछि फेरि एकजना पक्राउ परेका थिए ।
वाहवाही कमाउन प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्न नपाउँदै दुई जनालाई सार्वजनिक गरिदिएपछि बाँकी अपराधीलाई उम्किन सहज भएको प्रहरी अधिकारीहरु बताउँछन ।
प्रदेश प्रहरी कार्यालय जनकपुरको विषेश सहयोगमा लुटपाटमा संलग्न दुबैजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी निरिक्षकका अनुसार यस घटनाका मुख्य नाइके सर्लाहीको हरिपुर्वा नगरपालिका ७ स्थित बसतपुर बस्ने उदय साह हलुवाई हुन । उनी यसअघि समेत भएका विभिन्न लुटपाटका घटनामा समेत संलग्न थिए ।
लुटपाटमा संलग्न हलुवाईसँगै ५ जना भारतमै गएर लुकेको प्रहरीको दावी छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले लुटपाटमा संलग्न रहेका अभियुक्तहरुको खोजी भइरहेको बताए।
वैशाख २४ मा धनुषाको सबैला नगरपालिका–१२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले जनकपुरधामस्थित हिमालयन बैंकबाट ९० लाख रुपैयाँ झिकेका थिए। उनले १० लाख जनकपुरधाममै खर्च गरेर ८० लाख लिएर जाँदै गर्दा बाटोमा उनको रुपैयाँ लुटिएको थियो ।