सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते
भारतमा शनिबार सम्पन्न लोकसभा निर्वाचनपछि सार्वजनिक भएका एक्जिट पोलहरूले भारतीय जनता पार्टी (बीजेपी) पुनः भारी बहुमतले जित्ने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ती पोललाई ‘मोदी मिडिया पोल’को संज्ञा दिएका छन्।
अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन्। तर, राहुल गान्धीले यसलाई अस्वीकार गर्दै भने, “यो एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो।”
कांग्रेससहितको इन्डिया गठबन्धनले भने २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबी गरेको छ। शनिबार राति सार्वजनिक भएका एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गरेका छन् र जुन ४ मा आउने नतिजामा भारत गठबन्धनले सरकार बनाउने दाबी गरेका छन्।
भारतमा ७ चरणको मतदान सम्पन्न भइसकेको छ र जुन ४ मा मतगणनाको नतिजा आउनेछ। सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन्।