सामाजिक फीड,
रौतहट, २० जेठ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई बिचौलिया पक्राउ परेका छन् । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचाैलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्।
पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने बर्ष ४८ को श्यामनारायण साह छन् । यातायात कार्यालयमा दलालमार्फत् रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ।
स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यका लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । तर, कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् ।