सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते
भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ। प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ४५ घण्टा ध्यानमा बसेका छन्।
प्रधानमन्त्री मोदी विवेकानन्द रक मेमोरियलमा ध्यान गरिरहेका छन्, जुन समुन्द्रमा बनेको ऐतिहासिक स्थल हो। यो ध्यान मण्डपममा स्वामी विवेकानन्दले पनि तीन दिनसम्म ध्यान गरेका थिए। मोदीले स्वामी विवेकानन्दको मूर्तिको अगाडि केसरिया कुर्ता र गम्छामा ध्यान गरिरहेका तस्बिरहरू सार्वजनिक भएका छन्। उनले हातमा माला पनि लगाएका छन्।
मोदी बिहीबार कन्याकुमारी पुगेका थिए, जहाँ उनले दक्षिण भारतको परम्परागत पहिरनमा धोती र अफ(सेतो रंगको सल लगाएर भगवती अम्मान मन्दिरमा पूजापाठ गरेका थिए।
प्रधानमन्त्री मोदीको ध्यानका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ। दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने एनएसजी कमाण्डोहरू पनि तैनाथ गरिएको छ। विवेकानन्द रक मेमोरियलमा मोदी नबसेसम्म कुनै पनि आम पर्यटकलाई प्रवेश अनुमति छैन।
कन्याकुमारी भारतको विशेष स्थान हो, जहाँ अरब सागर, हिन्द महासागर, र बंगालको खाडी मिल्छन्। यो स्थान मोदीको आध्यात्मिक यात्राका लागि महत्वपूर्ण छ। चुनाव प्रचार सकिएपछि उनी प्रायः आध्यात्मिक यात्रामा जान्छन्। २०१९ मा उनी केदारनाथ गए थिए भने २०१४ मा शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए।