सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते
बलिवुडका प्रख्यात निर्माता एवम् निर्देशक करण जोहरले ‘धड़क’ को सिक्वेलको घोषणा गरेका छन्। सन् २०१८ मा जान्हवी कपुर अभिनीत ‘धड़क’ को सफलतापछि, ‘धड़क २’ दर्शकहरूमाझ आउने तयारीमा छ।
‘धड़क २’ मा ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी र ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदी मुख्य भूमिकामा देखिनेछन्। तृप्ती पहिलो पटक करण जोहरसँग काम गर्दैछिन् भने सिद्धान्त तृप्तीको अपोजिटमा अभिनय गर्नेछन्।
फिल्म धर्मा प्रोडक्सन, जी स्टुडियो र क्लाउड ९ पिक्चर्सको सहकार्यमा निर्माण हुन लागेको हो। निर्माण पक्षले १ मिनेटको सेनेटिक टिजर सार्वजनिक गरेको छ, जसले फिल्मको कथा प्रष्ट पार्दछ। टिजर हेरेर थाहा हुन्छ कि ‘धड़क २’ पनि प्रेमी-प्रेमिका जोडीको पारिवारिक संघर्षको कथा हुनेछ।
‘धड़क’ मराठी फिल्म ‘सैराट’ को रिमेक थियो। श्रीदेवीकी छोरी जान्हवी कपुरले सन् २०१८ मा ‘धड़क’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, जसमा उनका सह-कलाकार इशान खट्टर थिए। शशांक खेतानको निर्देशनमा बनेको यो फिल्म ४१ करोडको बजेटमा निर्माण भई ११० करोडको कमाई गर्न सफल भएको थियो।
‘धड़क २’ यस वर्षको नोभेम्बर २२ मा रिलिज हुने अपेक्षा गरिएको छ। दर्शकहरूले फिल्मको टिजरबाट सिक्वेलको लागि उत्सुकता देखाइरहेका छन्, जहाँ पुनः दुई प्रेमी-प्रेमिका परिवारको लागि संघर्षरत देखिनेछन्।