सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १६ गते
मंगलबार, अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा सिगार र सुर्तीको अन्तःशुल्कमा बढोतरी गरिएको छ। यस विधेयकले सिगारको अन्तःशुल्क प्रतिकिलो १ रुपैयाँ बढाएर ३१ रुपैयाँ पुगाएको छ।
फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँ बढाएर ७ सय ५५ रुपैयाँ पुगेको छ। चुरोट भएको सुर्तीमा ७० मिलिमिटरसम्म लम्बाइको प्रति एम ५० रुपैयाँ अन्तशुल्क बढाएर १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ।
७० देखि ७५ मिलिमिटरसम्म लम्बाइको चुरोटको अन्तःशुल्क प्रति एम ७० रुपैयाँ बढाएर २ हजार ३ सय ७० पुगेको छ। त्यस्तै, ७५ देखि ८५ मिलिमिटरसम्म लम्बाइको चुरोटमा अन्तःशुल्क प्रति एम ९० रुपैयाँ बढाएर ३ हजार ६० रुपैयाँ पुगेको छ।
८५ मिलिमिटरभन्दा बढी लम्बाइ भएको चुरोटमा अन्तःशुल्क प्रति एम २ सय रुपैयाँ बढाएर ४ हजार २ सय पुगेको छ। तयारी बिँडीको अन्तःशुल्क प्रति एम २ रुपैयाँ बढाएर ९६ रुपैयाँ पुगेको हो।
सुर्तीको अन्तःशुल्क प्रतिकिलो २५ रुपैयाँ बढाएर ५ सय रुपैयाँ पुगेको हुने छ। गुट्खा, खैनी, र सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो ३० रुपैयाँ बढाएर ८ सय ८० पुगेको छ।
हुक्काको अन्तःशुल्क प्रतिकिलो १०० रुपैयाँ बढाएर १ हजार ४ सय पुगेको हो। विद्युतीय चुरोट (भेप) लगाउने भए ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ। परफ्युम र पसिना रोक्ने वस्तुमा अन्तःशुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुगेको हो।