Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १६ गते

बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। भ्यालेन्सले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताउँदै आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्।

पूर्ववैज्ञानिक सल्लाहकार भ्यालेन्सले कोरोना जस्तै परिस्थितिसँग जुध्न तयार रहनुपर्नेमा जोड दिएका छन्। उनले महामारीको सामना गर्न हामी अझै तयार नभएको बताए। ‘द गार्डियन’ को रिपोर्ट अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक रहेको र खतराहरू पहिल्यै पत्ता लगाउनुपर्ने बताएका छन्।

भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला महामारीको खतरालाई चुनावी मुद्दा बनाउनु महत्त्वपूर्ण रहेको बताए। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन्।

२०२१ मा जी ७ देशका नेताहरूको बैठकमा भ्यालेन्सले महामारीको बिरूद्ध एकजुट हुनु आवश्यक रहेको बताएका थिए। उनले र्‍यापिड डाइग्नोस्टिक टेस्ट, र्‍यापिड भ्याक्सिन र र्‍यापिड ट्रिटमेन्टलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

भ्यालेन्सले जी ७ देशहरूले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए। उनले जी ७ वा जी २० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइएमा अवस्था पहिले जस्तै हुनसक्ने चेतावनी दिएका छन्। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए।

उनले भनेका थिए, “हामीसँग सेना छ, यो यस वर्ष युद्ध हुने भएकोले होइन, बरु यो राष्ट्रको अस्तित्वको लागि आवश्यक छ। त्यसैगरी हामीले महामारीलाई पनि हेर्नुपर्छ र यसको सामना गर्न सधैं तयार हुनुपर्छ।”

भ्यालेन्सले कोरोनाको दोस्रो चरणमा सुनकले मानिसलाई मर्न छोडेको आरोप पनि लगाएका थिए। यद्यपि, उनले सुनक सरकारको धुम्रपान विरोधी विधेयकको प्रशंसा गरेका छन्। यो विधेयक पारित भएपछि बेलायतका नाबालिग युवाहरूले सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन्। हाल बेलायतमा चुरोट किन्नको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ र सुनक सरकार यसलाई हरेक वर्ष बढाउन चाहन्छ। तर, भ्यालेन्सले निर्वाचनअघि विधेयक पारित नहुनेमा आफू निराश रहेको बताए।

प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए। उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो। यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे र उनको उपलब्धिको लागि उनलाई सन् २०२२ मा ‘सर’ उपाधि दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!