सामाजिक फीड
जनकपुरधाम , जेष्ठ १४ गते ।
चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।
ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
उपचारकै क्रममा अन्दाजी १७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।
डीएसपी रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिन तर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं।को बस ठोक्किएका हुन् ।
दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।