Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

जनकपुरधाम, ४ जेठ । मिथिलाञ्चलमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नामले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरूपा मानिने जानकी त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ। यस पर्वको अवसरमा मिथिलाका मठ, मन्दिरमा नौ दिनसम्म विविध कार्यक्रम गरिन्छ ।

जनकपुरधामस्थित जानकी मन्दिर, महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिरलगायत मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् । यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन् । यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ। तिथिको घटबढले हिजोको राति नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियो । जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ ।

यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुरधाम नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

सीता उत्पत्ति भएको यस दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । जगत जननी माता जानकी प्रकट भएको स्मरणमा जनकपुरधाममा भने जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । राष्ट्रिय विभूति सीताको जन्म दिवसमा मधेश सरकारले बिदा दिए पनि संघ सरकारले भने बिदा दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!