सामाजिक फीड,
सिरहा, ३ जेठ । शौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले आन्दोलन जारी राखेका छन् । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगका मजदुरहरूले विभिन्न माग राखी बिहीबार दोश्रो दिन पनि प्रदर्शन गरेका छन् । उनीहरूले मजदुरको हकहितका लागि विगतमा भएको सम्भौता कार्यान्वयन गर्न माग गरेका छन् ।
उनीहरूले सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीयवासीलाई उद्योगमा जागिरको व्यवस्था हुनुपर्ने, नियुक्तिपत्र दिनुपर्ने, सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, ८ घण्टाभन्दा बढी डिउटी गराए ओभरटाइमको अतिरिक्त पारिश्रमिक दिनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिएका छन् । त्यस्तै, जीवन बिमा र स्वास्थ्य बीमा गर्नुपर्ने पनि माग गरिएको छ ।
उनीहरूले अंगभंग भएका मजदुरहरूलाई रोजगारीको दिनुपर्ने, हप्तामा एक दिन बिदा दिनुपर्ने, उद्योगभित्र प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, वातावरण प्रदूषण न्यूनीकरणका उपाय अपनाउनुपर्ने, उद्योगभित्र प्रयाप्त खानेपानीको व्यवस्था हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।
उद्योगमा कार्यरत अखिल नेपाल उद्योगी मजदुर संघ तथा शौर्य सिमेन्ट उद्योग एकाई समितिका अध्यक्ष बैजु यादवले आफूहरूले माग सम्बोधनका लागि पटक पटक उद्योगका व्यवस्थापन पक्षलाई अनुरोध गरे पनि वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूको चेतावनी छ ।