सामाजिक फीड,
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेपाल एमाले परित्याग गरेका छन् । सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै उनले अध्यक्ष केपीशर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका छन् ।
०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘बितेको ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैँ ऋणी रहनेछु, त्यसपछि पार्टीले केन्द्रीय सल्लाहकारमा मनोनीत भएँ । त्यसको लागि पनि आभारी छु । तर केन्द्रीय सल्लाहकारमा पार्टी दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय राजनीतिमा हराएको छु, मेरो मूल्याङ्कन सही ढङ्गले भएन । त्यस कारण अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ ।’
पूर्वमेयर सरावगी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकामा प्रथम पटक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा उनी एमालेबाट मेयरका उम्मेदवार बनेका थिए ।