महोत्तरी, २७ वैशाख ।
महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले नगर प्रमुख साह र उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्द मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ । उक्त योजनामा भएको कामभन्दा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो माग दाबी गरिएको छ ।