Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम , बैशाख २० गते ।

लामो समयदेखि खडेरी र तापक्रम वृद्धिकाबीच मधेश सहित देशभरका अिधिकांस जिल्लामा आगलागी फैलिएको छ ।

गृह मन्त्रालयको विपद् पोर्टलको अभिलेख अनुसार गत चैत १८ देखि एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् ।

सबैभन्दा बढि लुम्बिनीमा ३९९, कोशीमा ३२६ र मधेश प्रदेशमा २८१ स्थानमा आगलागी भएको छ । बागमतीमा १३८, कर्णालीमा १०४, गण्डकीमा ९३ र सुदुरपश्चिम प्रदेशमा ७० स्थानमा आगलागी भएको छ ।

यस अवधिमा आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन भने आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार लामो समयदेखि खडेरी, तापक्रम वृद्धिका कारण देशैभर आगलागी फैलिएको हो ।

दुई सातादेखि तराई क्षेत्रमा तातो हावाको लहर चल्नु समेत आगलागी बढ्नुको कारण रहेको उनको भनाई छ ।
आगलागी कम हुन बर्षा नै कुर्नुपर्ने तर तत्कालै वर्षाको सम्भावना नभएकाले जोखिम कायमै रहेको उनले बताए ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक दशकमा आगलागीका घटनाको बार्षिकदर झण्डै चार गुणाले बढेको छ ।

गएको एक बर्षभरमा ३ हजार ८ सय १४ आगलागीका घटना भएका थिए । पछिल्लो एक दशकमा देशैभरी २० हजार ५ सय १८ वटा आगलागीका घटना भएका थिए ।

यो अवधिमा आगलागीमा परेर ७ सय ९५ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ४२ जना घाइते भएका छन् । कुलअनुमानित २२ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!