सामाजिक फीड
जनकपुरधाम, बैशाख १७ गते ।
सिरहामा हराइरहेकी तीनवर्षीया बालिकालाई छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको छ ।
सिरहा नगरपालिका १८ बस्ने रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या भएको प्रहरीले जनाएको छ ।
उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उक्त घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिानाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन् ।
खोजतलास गर्दै जाने क्रममा १४ गते राती साढे ११ बजेतीर रमेशको घरभन्दा उत्तरपट्टी संगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो ।
छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टा भित्र प्लाष्टिकको बोरा भित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए ।
उनका अनुसार करिब एक वर्षदखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको थियो ।
सोही कुराको रिसिबी राखेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेका थिए ।
त्यसै क्रममा गत वैशाख १२ गते रिया खेल्दै धनिकलालको घरमा पुगेकी थिइन् । रियालाई बिस्कुट किनेर ल्याएर खुवाएर घरभित्र लगी घाँटी थिचेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।