Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख १३ गते ।

धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

औरही गाउँपालिका १ पौडेश्वरस्थित सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ शेल आश्रुग्यास प्रहार गरेको छ । करिब १० दिनअघि यहीँ वडाका दुईजना युवती हंसपुर नगरपालिकाका दुईजना फरक समुदायका युवकसँग भागेका थिए ।

तर युवतीका आफन्त र स्थानीयले भने दुबैजना युवतीको अपहरण भएको दावी गर्दै उनीहरुको खोजतलास नगरेको भन्दै प्रहरी विरुद्ध नाराबाजी गर्दै आज विहानैदेखि प्रदर्शनमा उत्रिएका थिए ।

विहान प्रहरीले सम्झाई बुझाइ गरेपछि उनीहरुले आन्दोलन छोडेर घर फर्केको प्रहरीले जनाएको छ । तर पछि दिउँसो फेरि उनीहरु सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै प्रदर्शनकारीले प्रहरीको गाडी समेत तोडफोड गरेको डिएसपी अवाले बताए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ ।

दुईजना युवतीलाई भगाएको घटनामा प्रहरीले पाँच जनालाई थुनेर अपहण तथा शरिरबन्धक मुद्दा समेत चलाइ युवतीहरुको खोजतालास जारी रहेको डिएसपी अवाको भनाई छ । प्रहरीका अनुसार हंसपुर नगरपालिकाका दुईजना युवकसँग दुबैजना युवती प्रेमसबन्धमा थिए ।

उनीहरु आपसी सहमतीमै भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!