Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

रौतहट, १३ वैशाख। रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडीलगायतको कक्षमा तालाबन्दी गरिदिएका छन् ।

कटहरिया नगरपालिका ५ बलरामपुर गाउँस्थित भुस र बाँसमा लागेको आगो निभाउन गएकी ५० वर्षीया आस्मा खातुनको शरीरको अधिकांश भाग जलेको हो ।

परिवारजनले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घन्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोशित परिवारजनले ओपीडीलगायत सबै कक्षामा तालाबन्दी गरेका छन्।

आकस्मिक सेवामा २४ औँ घन्टा डाक्टरलगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरबाही भएको स्थानीयको ओरोप छ ।

घाइते महिलासँगै आएका महमद उमरले भने, ‘बिरामी लिएर आएको दुई घण्टा भयो । यहाँको अवस्थाबारे अस्पतालका डाक्टरसँगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्य भएर अस्पतालमा तालाबन्दी गरेँ ।’

बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव बिनोद गुप्ताले खातुनको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचार गरी वीरगंज रेफर गरेको बताए । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन् ।

डाक्टरहरू उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्यभएर वीरगंज रेफर गरिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!