सामाजिक फीड
जनकपुरधाम , बैशाख १० गते ।
देशका २२९ स्थानीय तह अझैपनि निमित्तको भरमा चलेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।
यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ ।
मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । यस्तै, ९७ गाउँपालिका र ९ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।
उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि ९ वटा उपसचिव तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका हुन् ।
यीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन बनेको छ । मधेस प्रदेशमा १३६ वटा स्थानीय तह रहेका छन् ।
जसमध्ये ६२ वटा पालिकामा पदपूर्ति भएको छ भने ७४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।
कोशी प्रदेशमा प्रमुख प्रशासकीय अधिकृतको १३७ दरबन्दी रहेकोमा १०२ मात्र पदपूर्ति छ भने ३५ रिक्त छ ।
यस्तै, बागमती प्रदेशमा ११९ जनाको दरबन्दी रहेकोमा १०७ जना पदपूर्ति छ भने १२ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।
गण्डकी प्रदेशमा ८५ दरबन्दी रहेकोमा ८० जनाको पदपूर्ति भएको छ भने ५ पालिका रिक्त छन् ।लुम्बिनी प्रदेशमा १०९ दरबन्दी रहेकोमा ९९ पदपूर्ति भएको छ भने १० पालिका रिक्त छन् । कर्णाली प्रदेशमा ७९ दरबन्दी रहेकोमा ४० पदपूर्ति भएको भने ३९ पालिका रिक्त छन् ।
यता सुदूरपश्चिम प्रदेशमा ८८ दरबन्दी रहेकोमा ३४ पदपूर्ति भएको छ भने ५४ पालिकामा प्रमुख प्रशासकीय पद रिक्त छ ।