Samajik Feed – News Portal from Nepal

न्युयोर्क, २५ चैत । अमेरिकाको न्युयोर्कमा प्रहरीले मुस्लिम महिलाको हिजाब फुकाल्न लगाएर ‘मगशट’ (अभियुक्त पक्राउ परेपछि लिइने फोटो‌) लिएको विषयमा चर्को हंगामा भएको छ ।

यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि १७.५ मिलियन अमेरिकी डलर (दुई अर्ब ३२ करोडभन्दा बढी) तिर्न पनि सहमति जनाएको छ ।

‘मगशट’ विशेष गरी पुलिस रेकर्ड वा आधिकारिक कामका लागि लिइन्छ। फोटोसँगै अभियुक्तको औंठाछाप, उचाइ र तौल जस्ता व्यक्तिगत जानकारी पनि लिइएको हुन्छ ।

मुद्दा दायर गर्ने महिलाहरूको पहिचान जमिला क्लार्क र अरवा अजिजको रूपमा गरिएको छ। जमिलालाई जनवरी ९, २०१७ मा र अर्वालाई अगस्त ३० मा पक्राउ गरिएको थियो । पक्राउ परेपछि टाउकोबाट हिजाब फुकाल्न बाध्य पारिएको भन्दै उनले आफूलाई लाजमर्दो महसुस भएको आरोप लगाएकी थिइन् ।

जमिलाले एक विज्ञप्तिमा भनिन्, ‘जब हिजाब फुकाल्न बाध्य पारियो, तब आफू नग्न भएको महसुस गरेँ।’ उनले हजारौँ न्युयोर्कवासीलाई न्याय दिलाउनमा आफूले भूमिका खेलेकोमा गर्व लागेको बताइन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार जमिलाका श्रीमानले लगाएको झुटो आरोपमा गिरफ्तार गरिएको थियो । पक्राउका क्रममा प्रहरीले जमिलालाई हिजाब नहटाएमा कारबाही गर्ने धम्की दिएको आरोप छ । यहाँ अर्वालाई पनि नक्कली मुद्दामा पक्राउ गरिएको थियो । हिजाब हटाएर उनको फोटो खिच्दा अर्वालाई देख्न सक्ने ठाउँमा ३० भन्दा बढी पुरुष कैदी उपस्थित रहेको आरोप छ । यसबाट अर्वा स्तब्ध भइन् । महिला वकिलले भने कि कसैलाई आफ्नो धार्मिक लुगा खोल्न बाध्य पार्नु गलत हो।

न्युयोर्क सिटी कानून विभागका प्रवक्ता निक पाउलुचीले एक विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौताले पुलिस विभागको लागि सकारात्मक सुधार गरेको छ र सवै पक्षहरूको हितमा छ। १६ मार्च २०१४ देखि २३ अगस्ट २०२१ सम्म टाउकोको हिजाब हटाउन बाध्य भएका सबै महिलाले यस सम्झौता अन्तर्गत क्षतिपूर्ति स्वरूप पैसा पाउने छन्।’

यसरी करिब ४ हजार १ सय जनामा सो रकम वितरण गरिने उनले बताए । यस अनुसार सबैले कम्तिमा ६.५ लाख रुपैयाँ पाउने ग्यारेन्टी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!