सामाजिक फीड,
सप्तरी, २३ चैत्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले अध्यक्ष यादवलाई सफाइ दिएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको छ ।
गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौकनजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर वीरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिँदै गरेको अवस्थामा पक्राउ गरेको दाबीसहित अख्तियारले उनीहरू दुवै जनासहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई भदौ १९ गते आरोप पत्र दायर गरेको थियो ।
घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको थियो ।
विशेष अदालतमा थुनछेकको बहसपछि धरौटीमा रिहा भएका पालिका अध्यक्ष यादवसहित तिनै जनालाई शुक्रबार विशेष अदालतले सफाइ दिने फैसला गरेको हो ।
निलम्बित उमेश यादव यो फैसला गरेसँगै पुन गाँउपालिका अध्यक्षमा फर्किने भएका छन् । अख्तियारले मुद्दा चलाएकामध्ये सफाइ पाएर पुन: पदमा फर्किने उमेश जिल्लाको दोश्रो पालिका प्रमुख भएका छन् । यस अघि बोदेवरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंहपनि सफाइ पाएका थिए ।