Samajik Feed – Nepali News Portal

महाेतरी, २३ चैत । मधेशमा दिनानुदिन पानीको संकट गहिरिँदो छ । भएका मुहानहरू सुक्न थालेका छन भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।

तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसलाको रुखलाई समेत दोष देखाउन थालिएको छ ।

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुखकै कारण मधेश मरुभूमीकरणतर्फ उन्मुख भएको किसानहरूले गुनासो गर्न थालेका हुन् ।

“जब–जब यो मसलाको बिरुवा लगाइयो, तब पानीको चरम अभाव सिर्जना हुँदै गयो,” बर्दिवास हातिलेटका पदम मगरले भने, “मलाई लाग्छ पानी सुक्नुको प्रमुख कारण यही नै हो ।”

पानी पाइरहने ठाउँहरूमा मसलाको रुख रोपेपछि पाउन छाडेको मगरको अनुभव छ । रुख ठूलो बनिसकेको ठाउँमा एक किलोमिटरसम्म उर्वरभूमिसमेत बन्जर बनेको बताउदै यही रुखका कारण नै पानी र माटोलाई समेत असर गरेको उनकाे दाबी छ ।

अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वभाविक रूपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरू स्वीकार गर्छन् ।

पर्यावरणविद् डा. विजय सिंहका अनुसार पानीका दृष्टिकोणले मसलाको रुख मधेशमा हानिकारक नै भएता पनि किसानहरूका लागि व्यावसायिक उत्पादनमा महत्वपूर्ण रहेको बताउँछन् ।

“यो जातको रुख कत्तिको हानिकारक छ भन्ने विषय बैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरत छ ।” उनले भने– “मधेशमा पानीको समस्या गहिरिँदो छ, किसानले गरेको गुनासोमा अध्ययन गर्न सक्नुपर्छ ।”

तर विभिन्न अध्ययनले भने मसलाको रुख पर्यावरणीय हिसावले हानिकारक नै हुने निष्कर्ष निकालेका छन् ।

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरूमा एसिड हुने हुँदा माटोको उर्वराशक्तिमा ह्रास आउने र पानी बढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीका अनुसार भूमिगत पानीमा यसले गहिरो असर पु‍र्‍याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिँदै गएको छ ।

अमेरिकाको नेसनल लाइबरेरी अफ मेडिसिनले तयार गरेको रिपोर्ट :

विज्ञहरूले यो रुखलाई पर्यावरण विरोधीको रूपमा उभ्याएका छन । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसावले अरुको अस्तित्व स्विकार गर्न नसक्ने बताउँदै पर्यावरणविद् नागदेव यादवले मधेशबाट यो रुखलाई विस्थापन गर्नुपर्ने बताउँछन् ।

“यो रुखमा चराचुरुङ्गीले त बासस्थान बनाउँदैनन् त्यसमाथि किरा, पतङ्गसमेत भेटिँदैन । त्यसैले यो रुखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ,” उनले भने, “भूमिगत पानीको मुहानसमेत यो रुखले सखाप बनाइरहेको देखिन्छ ।”

यादवको जस्तै एक अनुसन्धानले पनि एक वयस्क रुखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने बताएको छ ।

सन १९९३ मा यूएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा ४ सय एमएल देखि १२ सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

अध्ययनमा यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने उल्लेख गरिएको छ । अध्ययनअनुसार अझ तापक्रम असन्तुलन बनाइराख्ने हुँदा जलवायु परिवर्तनमा समेत न्यून भूमिका खेल्ने देखिएको छ । देख्दा सदावहार हरित देखिएता पनि यो अध्ययनले समेत पानीको लागि निक्कै हानिकारक हुने बताएको छ ।

फुड एण्ड अग्रिकल्चर अग्रानाईजेसन अफ युनाइटेड नेसनले तयार गरेको रिपोर्ट :

केही बर्ष अगाडिसम्म मधेशमा यो रुख लगाउन अभियान नै चलाइएको थियो । “आली–आलीमा सपेता गरिबी वेपत्ता” भन्ने मूल नाराका साथ मधेशका सागरनाथ वन परियोजनादेखि व्यक्तिगत जग्गामा समेत मसलाका रुखहरू व्यापक लगाउन थालियो ।

सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयको अनुसार अहिले मधेशमा करौडौँ संख्यामा मसलाका रुखहरू फैलाइएको छ । अष्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो आर्टिकलमा यो रुख पानीका लागि भने हानिकारक हुन् सक्ने बताएका छन । यो रुखको उत्त्पत्ति पनि अष्ट्रेलियामा नै भएको मानिन्छ ।

लेखक रुटका अनुसार अष्ट्रेलियाको सिमसार र दलदल भएको ठाँउलाई सुख्खा बनाउन यो रुख लगाइएको थियो । पछि केही वर्षमा नै सिमसार क्षेत्रलाई यसले सुख्खा बनाइदियो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढ्ने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछि विश्वभर फैलाइएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञहरू बताउँछन् ।

मसलाको रूखलाई अरू भूभागमा सार्नुमा अष्ट्रेलियाका डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान रहेको वताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले । तीमध्ये ३ करोड ८० लाखको वृक्षारोपण उनि आफैले गरेका थिए । ब्राजिलमा मात्र दुई अरबभन्दा बढी मसलाका रूखहरू रहेको बताइन्छ ।

यो रुख पानि र पर्यावरणीय हिसावले हानिकारक नै छ भन्ने विषयलाई पछिल्लो समय अष्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रुखकै कारण पर्यावरणमा हानि पुगेको विषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रुखहरूलाई विस्थापन गरिएको अष्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ ।

पहिले त अष्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ ।

भारतमा १८४३ मा नै यो रुख भित्रिएको पाइएको छ । बेलायती नागरिकले तामिल नाडूमा लिएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भयो । सागरनाथ वन परियोजनाले २०३० को दशकमा नेपालमा भित्र्याएको थियो ।

पछि सरकारले यस्लाई नीति नै बनायो । तराईमा “आली–आलीमा सपेता, गरिबी बेपत्ता” भन्ने नारा नै बनाइएको थियो । मधेशमा मसलाको रुखलाई सपेता पनि भन्ने गरिन्छ । वृक्षारोपण गरेपछि ४ वर्षको अवधिमा किसानहरूको अनुभव अनुसार यसले भयावह असर पुर्‍याइरहेको छ ।

उर्वारासक्ति क्षीण बनाउने, पानीको मात्रा सोसेर मरुभूमिकरणमा सहयोग गर्ने, प्रज्वलनशील हुने हुँदा आगलागीमा सहयोग पुर्‍याउने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमि आउँदा किसानहरू नियमित खेतीपातीबाट पलायन हुनुपर्ने अनेकौँ समस्या सिर्जना भएको किसानहरूको गुनासो छ ।

यही रुखका कारण मधेशका कतिपय पालिकाहरूमा किसानहरुले विस्थापन गरिदिन निवेदनसमेत दिएको पाइएको छ । २०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति वैठकमा समेत मसलाको विरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो ।

यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेश गर्यो । उपप्रमुखले पेशा गरेको उक्त प्रस्तावमा मसलाको विरुवालाई रोक्न कानुन नै बनाउनुपर्ने माग गरिन् ।

रुखले किसानहरूको पानी र वालीनालीमा गम्भीर असर परेको बाक्लै निवेदन आएपछि नगरासभाबाट हटाउने र बरु फलफूलको विरुवा रोप्ने नगरासभावाट नै पास गराएको बताइएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरूले गुनासो गर्न थालेका छन् । अघिल्ला नगरप्रमुख विदुरकुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरूमा मसलाको रुख निषेध गर्नुपर्ने बताएता पनि नीतिगत रूपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासाहरू बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो बताउँछन् ।

“हामिकहाँ पनि बाक्लै निवेदन आउन थालेका छन् न्यायिक समितिमा । यसको विषयमा कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँदै छौँ ।” उनले भने । “नगरको दक्षिणी क्षेत्रमा यो ठूलो समस्याको रूपमा खडा हुँदैछ ।”

उदारवादी अर्थतन्त्रको प्रभाव

मसलाको रुख नेपालमा भित्र्याउनु शक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरू दाबी गर्छन । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरे भावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगाएको दाबी गर्छन् ।

चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुक्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सबैभन्दा दुखद भएको उनको भनाइ छ ।

“भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेशलाई नै वातावरणीय रूपमा यस्ले असन्तुलित बनायो ।” उनले भने । “बितेका २०/२५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ, यतिबेला । ०४८/०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेशको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५/७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!