०६ कार्तिक, जनकपुरधाम। नवौं राष्ट्रिय खेलकुदका क्रममा दुर्घटनामा प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङ उडान आइतबारदेखि सुचारु भएको छ । दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगित गरेको छ ।
प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संगठन राष्ट्रिय प्राधिकरणले उडान सुचारु गर्न प्राधिकरणले तोकेका पाँच बुँदे सर्त मान्न तयार भएपछि प्रतिबन्ध फुकुवा गरिएको नेपाल हवाई खेलकुद संघका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिनुभयो ।
हवाई खेलकुद क्षेत्रको सुधारका लागि क्यानले केही शर्त राखेको थियो । हामी ती सबै सर्तहरू पूरा गर्न लागेका छौं। त्यसपछि उडान गर्न दिइयो,’ उनले भने, ‘आजदेखि प्याराग्लाइडिङ सुचारु हुन्छ ।’ पर्यटकीय सिजनमा प्याराग्लाइडिङमा प्रतिबन्ध लगाइएकोमा पर्यटन व्यवसायीले असन्तुष्टि जनाइरहेका छन् ।

गत आइतबार पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहेको बेला प्याराग्लाइडिङ दुर्घटनामा परी त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको थियो । सराङकोटबाट ‘टेक अफ’ गरेलगत्तै थापाको आकाशबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।
यसैबीच प्राधिकरणले उडान सुचारु गर्न पाँच फरक शर्त राखेको छ । सर्तअनुसार प्राधिकरणले व्यावसायिक उडानका लागि उपलब्ध गराएको उडान क्षेत्रभित्रको व्यावसायिक उडान मात्र गर्न दिइनेछ ।
त्यसैगरी १५ दिनभित्र सबै पाइलटको स्वास्थ्य परीक्षण गरि स्वास्थ्य परीक्षण पास गर्नेलाई मात्र उडान गर्न दिइनेछ । व्यावसायिक उडानमा पाइलटले प्राधिकरणको स्वीकृति लिएर सबै प्रकारको पोशाक लगाउनुपर्ने र पोशाकमा पाइलट र कम्पनीको नाम लेखिएको हुनुपर्नेछ ।
त्यस्तै, प्राधिकरणका प्राविधिकले १५ दिनभित्र परीक्षण गरेको ग्लाइडरलाई दक्ष पाइलटले मात्र उडान गर्न दिइनेछ । त्यसैगरी, पाइलटहरूलाई आपतकालीन अवस्थामा ट्यान्डम रेस्क्यु प्रयोग गर्ने सम्बन्धमा वर्षको एक पटक रिफ्रेसर समयतालिका र व्यावहारिक तालिम दिनुपर्ने उल्लेख छ ।