न्युयोर्क, १८ चैत्र । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरणमा परेका छन् । हैटीका एक गिरोहका नेताको अन्तर्वार्ता लिने प्रयास गर्दा अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परेका हुन् ।
आफूलाई हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाई अरबी भनेर पनि सम्बोधन गर्ने गरिएको छ । न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुबर हैटीको सबैभन्दा कुख्यात गिरोहका नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए ।
गत मार्च १४ मा अमेरिकी युटयुबर हाइटीमा आइपुगेको २४ घण्टापछि उनी र उनका एक सहयोगीलाई माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ । युट्युबरसँग ६ लाख डलर फिरौती माग गरिएको छ । उनको रिहाइका लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालाैफको सुरक्षित रिहाइका लागि ठूलो रकमको माग गरिरहेका छन् ।
युट्युबर मालाैफका युट्युबमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन् ।