सामाजिक फीड
जनकपुरधाम, चैत्र ६ गते ।
पर्साको ठोरीमा जंगलमा घास काट्न गएका बेला बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
आक्रमणबाट ठोरी गाँउपालिका( ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए ।
मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला जंगलबाट आएको बाघले आक्रमण गर्दा उनको ज्यान गएको पाखरिनले बताए ।
महिलालाई आक्रमण गरी ज्यान लिने बाघ भने जंगलतिर भागेको स्थानीयले बताएका छन्। मृतक महिलाको शव परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसअघि गत पुसमा पनि बाघले पटेर्वा सुगौली गाउँपालिका( २ मा पनि एक जनाको ज्यान लिएको थियो ।
दुई दिनअघि मात्रै पर्साको जंगल नजिकैको गाडीमा आतंक मच्चाउने एउटा बाघलाई बन टोलीले नियन्त्रणमा लिएको थियो ।