समाजिक फीड
जनकपुरधाम, चैत ५ गते ।
महोत्तरीको बर्दिबास नगरपालिकाले उमेर पुगेर बिहे गर्ने मुसहर समुदायका जोडीलाई ५० हजार रुपैँया प्रोत्साहन रकम दिने भएको छ ।
बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् ।
अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीन वर्षे लघुजीवन बीमाबापत रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो ।
बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।
नगरप्रमुख क्षत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो ।
‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ’, नगरप्रमुख क्षत्रीले भने, ‘यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।’ यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने उनले स्पष्ट पारे ।