समाजिक फीड
जनकपुरधाम, चैत १ गते ।
सर्लाहीको मलंगवास्थित दुईवटा मन्दिरमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ ।
मंगलवार साँझ मलंगवा नगरपालिका–८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो ।
ती दुबै मन्दिरमा बैठाले नै तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मुर्ति तोडफोड भएको थाहा पाए लगतै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दैजाँदा बैठाले मुर्ति तोडफोड गरेको पाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम महतोले बताए ।
उनका अनुसार प्रहरीले घटनास्थलमा भेटाएको प्रमाण तथा सबुतको आधारमा उनलाई पक्राउ गरिएको हो ।
बैठा विरुद्ध जिल्ला प्रहरीले धर्म समबन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमती लिइ अनुसन्धान गरिरहेको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुयाउन नहुने, धार्मिक भावनामा आघात पुऱ्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुऱ्याउन नहुने र धर्म परिवर्तन गराउन नहुने व्यवस्था छ ।
धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने अपराध संहितामा उल्लेख छ ।