सामाजिक फीड
जनकपुरधाम, फागुन ३० गते ।
धनुषाको ढल्केवरमा नगर (ईमर्जेन्सी) आकस्मिक स्वास्थ्य सेवा संचालनमा आएको छ । नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवाको बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीले उदघाटन गरेका हुन ।
नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई स्तरोन्नती गरी आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । उद्घाटनको गर्दै नगरप्रमुख महतोले आकस्मिक सेवा सुचारु भएसँगै सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई चर्को शुल्क तिरेर उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता हट्ने बताए ।
आकस्मिक उपचार सुविधा नहुँदा यहाँका जनताले थुप्रै समस्या झेल्दैआएको बताउँदै नगरप्रमुख महतोले नगरवासीका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो सेवा विस्तार गरिएको जानकारी दिए । आकस्मिक सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको बताए ।
उपचारका लागि चाहिने स्वास्थ्य उपकरण, ल्याब मेसिन तथा जनशक्तिको व्यवस्थापन भइसकेको र एक्स–रे मेसिनलगायतका थप उपकरणको व्यवस्थापन गर्दै जाने बताए ।
कार्यक्रममा उपप्रमुख सुनितासिंह बुढाथोकीले आकस्मिक सेवा सञ्चालनसँगै जनप्रतिनिधिको काँधमा थप जिम्मेवारी थपिएको बताए । कुनै पनि काम नीति नियममा रहेर गर्नुपर्ने बताउँदै काँधमा काँध मिलाएर विकासको काम गर्नुेपर्ने जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीले चौबिसै घण्टा खुला रहने आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि आकास्मिक उपचारका लागि नीजि उपचार केन्द्रमा महङ्गो शुल्क तिर्नुपर्ने तथा २४ किलोमिटर टाढा जनकपुर जानुपर्ने बाध्यता हट्ने बताए ।
आकस्मिक स्वास्थ्य सेवामा दुई जना एमबीबीएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाप नर्स, दुई जना स्वीपर र फार्मेसीमा दुई जनालाई राखिएको जानकारी दिए ।