Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन ३० गते ।

सुनको सिक्री नपाएको विषयलाई लिएर भएको विवादपछि विवाह रद्द गर्ने बेहुलासहित पाँचजना विरुद्ध पर्सा प्रहरीले कानुनी कारबाही अघि बढाएको छ ।

पीडित बेहुलीको परिवारले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार अनुसार बाराको कलैया नगरपालिका ४ बस्ने २८ वर्षीय बेहुला उमेश साह, उनका बुवा ६० वर्षीय बच्चालाल साह, दाईद्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ वर्षीय रामएकवाल साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विवादको क्रममा प्रहरीले बेहुली पक्षका मानिसलाई समेत पक्राउ गरेको छ । यद्दपी उनीहरुको नाम भने गोप्य राखिएको छ ।
वीरगञ्ज महानगरपालिका—२४ स्थित रानीघाटका सुखल साहकी छोरी रमिता र बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहको विवाह थियो।

विवाहमा ‘पैरक्षण’ विधिको क्रममा दुलही पक्षले दुलाहालाई सिक्री नदिँदा भनाभन भएको थियो। त्यसै विवादले स्वयंवर भइसकेको विवाह टुटेको हो। विवादको क्रममा हात हालाहाल समेत भएको थियो ।

पर्सा प्रहरीका अनुसार दाइजो स्वरूप सुनका गहाना, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तले वेहुली पक्षसँग वादविवाद तथा हातपातसमेत गरेको पाइएको छ।

बेहुलाले दाइजोबापत बेहुली पक्षबाट १५ लाख २५ हजार रुपैयाँ नगद,एकथान ल्यापटप, सुनको औँठी र हनुमानको माला बुझेको पाइएको प्रहरीले जनाएको छ।

मुलुकी अपराध (संहिता) २०७४ को दफा १७४ को उपदफा २ (१ ) मा विवाहमा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक अन्य दाइजोको लेनदेन गर्न नपाइने उल्लेख छ।

त्यसबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चलअचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखेर विवाह गर्न पनि कानुनले निषेध गरेको छ।

दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान मुलुकी अपराध संहिताले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!