सामाजिक फीड
जनकपुरधाम, फागुन २२ गते ।
सर्लाहीमा राम्रो सँग बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका वडा नं। ८ का ३५ वर्षीय टेके सार्की रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ स्थितबाट पक्राउ गरिएको हो ।
सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई रम्तेललाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पजियार थारुले जानकारी दिए।
गत बैशाख ७ गते दिउँसो ईश्वरपुर १० स्थित फुलजोर खोलामा रम्तेलले १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको र बालिका गर्भवती भई पुसमा छोराको समेत जन्म दिएको भनी प्रहरीमा उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको प्रवक्ता थारुले बताए।
प्रहरीमा जाहेरी परेपछि पीडित बालिकालाई विशेष शारीरिक जाँचको लागी प्रादेशिक अस्पताल मलंगवा पठाई पीडितबाट जन्म भएको नावालक शिशुको डिएनए जाँचको लागि नमुनासमेत संकलन गर्न लगाई काठमाडौं पठाइएको हो ।
यता, शिशुको भने गत बुधबार उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्युसमेत भइसकेको छ।
पक्राउ परेका आरोपितले प्रारम्भिक सोधपुछमा बालिकाको जवरजस्ती करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएका छन् । आरोपितको डिएनए म्याचिङका लागि नमुना संकलन गर्ने काम भइसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।