समाजिक फीड
जनकपुरधाम, फागुन २१ गते ।
महोत्तरीमा भारतीय टाटासुमोले टयाक्टरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।
दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीका अनुसार ठक्करबाट ट्रयाक्टरमा पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र साइकल यात्री धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते दुबैजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।
टाटासुमोको ठक्करबाट ट्रयाक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवारी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले छ ।
ठक्कर दिने टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।