नयाँ दिल्ली । भारतको मध्य प्रदेशमा पिकअप गाडी दुर्घटना हुँदा पाँच महिलासहित १४ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
मध्य प्रदेशको डिन्डोरी जिल्लाको बझार घाटमा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ । पीडितहरू सोही गाउँका हुन् ।
प्रहरीका अनुसार गाडी ४०–५० फिटको तल खसेको छ । घटनाप्रति दुःख व्यक्त गर्दै मध्य प्रदेशका मुख्यमन्त्रीले मृतकका आफन्तलाई चार–चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता तथा पूर्व मुख्यमन्त्री कमलनाथले पनि शोक व्यक्त गरेका छन् ।