समाजिक फीड
जनकपुरधाम, फागुन १६ गते ।
बाराको निजगढमा विष्फोट भएको विस्फोटक पदार्थ साढे ६ हजारमा कबाडबाट खरिद भएको प्रहरी अनुसन्धानमा खुलासा भएको छ ।
काट्ने क्रममा सोमवार दिउँसो विस्फोट भएको झण्डै १५ किलो तौलको त्यो पदार्थ के रहेको अझै खुल्न सकेको छैन् ।
बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी गरेको छ।
लेथमा लगेर त्यो शंकास्पद वस्तु काटेर हेर्ने क्रममा विस्फोट भएको थियो। त्यसभित्र धेरै तामा हुन सक्ने लोभमा किनबेच भएको पाइएको छ।
घटनामा हालसम्म तीनजनाको मृत्यु भइसकेको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
अन्य कबाडी सामानसँगै त्यो विस्फोटक पदार्थ होलसेलमा किनबेच भएको पाइएको बाराका एसपी सुरेश काफ्लेले बताए ।
उनका अनुसार केही दिनअघि एक सय २३ किलो कबाडी सामान किन्दा त्यो शंकास्पद बस्तु पनि कबाडी सञ्चालकले तौल गरेर किनेको अनुसन्धानमा खुलेको हो ।
उक्त शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र त्यो वस्तु किन्ने रमेश जैसवाल पक्राउ परिसकेका छन्।
भारतीय नागरिक जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्। यद्दपी त्यो वस्तु बेच्ने पाख्रिन र किन्ने जैसवाले शंकास्पद वस्तु के थियो भन्ने कुरा आफूलाई समेत थाहा नभएको प्रहरीलाई बयान दिएका छन् ।
पाख्रिनले त्यो वस्तु आफूले अन्यत्रबाटै ल्याएको बयान दिएका छन्। पूर्वपश्चिम राजमार्गसँगै रहेको निजगढ बजारमा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसप (लेथ) मा भएको शंकास्पद वस्तु विस्फोटमा लेथ संचालक सहित तीनजनाको मृत्यु भएको थियो ।
त्यो विस्फोटमा परेर वर्कसप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजत मृत्यु भएको छ।
विस्फोटमा परेर निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका-९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन्।