Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १५ गते ।

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

निजगढ बजारमा सोमबार दिउँसो भएको शंकास्पद वस्तु विस्फोटमा उपचारको क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले समाजिक फीडलाई बताए ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–५ बस्ने वर्कसपका सञ्चालक मगर, भारत बिहारको गवाई बस्ने ३५ वर्षीय राकेश जैसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत रहेका छन् ।

प्रहरीले सोमबार प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा घटना भएको बताएको थियो।

यद्यपि अनुसन्धान गर्ने क्रममा एक्सप्लोजन हुने अर्को शंकास्पद वस्तु विष्फोट भएको खुलेको डिएसपी न्यौपानेले बताए।

उनका अनुसार घटनामा घाइते भएका थप तीनजनाको अवस्था गम्भीर छ। निजगढ नगरपालिका– ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगंज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, विहार रामघडवा बस्ने २० वर्षीय अरविन साह घाइते भएको डिएसपी न्यौपानेले बताए। विष्फोटको घटनामा संलग्न रहेको आशंका प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

बिहारको मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरेको डिएसपी न्यौपानेले बताए। उनका अनुसार पक्राउ परेका जैसवालले कवाडी किन्ने र पाख्रिन कवाडी बेच्ने काम गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!