समाजिक फीड
वीरगञ्ज, फागुन १३ गते ।
वीरगञ्जमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्।
नारायणी अस्पतालमा शनिवार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएर अस्पतालबाट भागेकी हुन् ।
सासुसँग अस्पताल पुगेकी ती महिलाले रानीघाट–६ वीरगञ्जको ठेगाना अस्पतालमा टिपाएकी थिइन् ।
काउण्टरमा नाम टिप्ने बेला उनले आफुसँग मोबाइल नभएको बताएकी थिइन् ।
सुत्केरी व्यथा लागेपछि शुक्रवार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ।
छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ।
अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ।
शनिवार साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले बताए।