Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , फागुन ४ गते ।


धनुषामा फागुन १३ गतेदेखि दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ।


पहिलो चरणमा फागुन १३ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए ।


पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहनिया गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मिनीया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बालबालिकालाई दादुरा–रुबेला खोप दिइने उनले बताए।

यस्तै, दोस्रो चरणमा धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला विहारी नगरपालिकामा खोप दिइने खोप प्रमुख यादवले बताए।

९ महिनादेखि ५ वर्षमुनिका ६७ हजार २४४ जनालाई खोप दिइने लक्ष्य स्वास्थय कार्यालयले लिएको छ भने ५ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५८ हजार ७८६ जनालाई खोप दिइने लक्ष्य छ।

खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १ हजार ११२ वटा खोप केन्द्र, ८३३ वटा विद्यालयमा २ हजार २२४ जना स्वयंसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचालन गरिने खोप प्रमुख यादवले बताए।

यस्तै, १७३ वटा स्वास्थ्य संस्था र आधारभूत स्वास्थ्य संस्था, ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!