समाजिक फीड
जनकपुरधाम, फागुन २ गते ।
रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न भारतीय सुटरले सुपारी लिएको रहस्य बाहिरिएको छ ।
कुख्यात सुटर चञ्चल पाण्डेयले उनलाई हत्या गर्न सुपारी लिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको हो ।
पाण्डेले मेयर साहको हत्या गर्न ३६ लाखमा सुपारी लिएको जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार मेयर साहको हत्या गर्न उनले १८ लाख रुपैयाँ बुझिसकेको समेत खुलेको छ ।
सुटर पाण्डेय भारत सरकारको समेत मोस्ट वान्टेड सूचीमा छन् । उनले नेपालमा कैयौँ घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
पाण्डेलाई नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको छ। स्रोतका अनुसार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले भारतको बंगालस्थित कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा चञ्चल पाण्डे, मनिष सिंह र अर्का एक जनालाई गत पुस १० गते पक्राउ गरेको थियो।
उनीहरूलाई ल्याउने क्रममा मुख्य आरोपी पाण्डे रेलबाट हामफालेर भागेका थिए। मनिष सिंहमाथि भारतमै १३ वटा हत्या मुद्दा दर्ता रहेकाले उनी भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन्। अर्का एक जना निर्दोष रहेकाले छुटेका थिए।
हाल भारतीय प्रहरीको नियन्त्रणमा रहेका पाण्डेयलाई नेपाल ल्याउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पाण्डे नेपाल प्रहरीको नियन्त्रणमा आएपछि मात्र गौरका मेयर शम्भु साहको हत्या गराउन कसले ३६ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो खुलासा हुने प्रहरीको भनाई छ।
बारा कलैयास्थित बाल एकता बोर्डिङका सञ्चालक रुपेश सर्राफको हत्यामा संलग्न भारतीय सुटर सुजित सिंह पक्राउ परेपछि गौरका मेयर साहको पनि हत्या गर्ने योजनाबारे प्रकाशमा आएको थियो।
सिंहले नै प्रहरी समक्ष कुख्यात अपराधी चञ्चल पाण्डेले मेयर साहको हत्या गर्न सुपारी लिएको बताएको प्रहरी स्रोतले जनाएको छ।
बोर्डिङ सञ्चालक रुपेशको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह पक्राउ परेको र यसको योजनाकार चञ्चल पाण्डे देखिएपछि प्रहरीले खोजी थालेको थियो।