समाजिक फीड
जनकपुरधाम, माघ २९ गते ।
जनता समाजवादी पार्टी ( जसपा ) ले मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ ।
यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो ।
उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् । पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ ।
त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरेको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।
यस्तै कार्यकारिणी समितिको बैठक सुरु भएको र प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा छलफल भइरहेको उनले बताइन् ।
अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् ।
उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए । उनले सो पदबाट पनि राजीनामा दिएका हुन् ।