Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २८ गते ।

पछिल्लो ६ महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार पक्राउ परेकामध्ये एक हजार नौ सय ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट गाँजा आठ हजार तीन सय तीन सय २० केजी, चरेस तीन सय आठ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी बरामद गरिएको प्रहरीको दाबी छ ।

यसैगरी डाइजेपाम २३ हजार पाँच एम्पुल, फेनारगन २७ हजार एक सय ३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार छ सय ७४ एम्पुल, लुपिजेसिक एक हजार चार सय १५ एम्पुल, नाइट्राभेट ६३ हजार पाँच सय ४७ ट्याबलेट, स्पास्मो ११ हजार ७२, कोरेक्स छ हजार पाँच सय ७१, एभिल सात सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन चार हजार सात सय ६२, अन्य एम्पुल छ हजार चार सय ८२, अन्य ट्याबलेट एक हजार पाँच सय ५८ र आइस दुई ग्रामसमेत बरामद भएको छ ।

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा तीन हजार आठ सय ९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । यसैगरी कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ ।

लागुऔषध दुव्र्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरूजस्तै अभियुक्तहरूको सूची लामो रहेको प्रवक्ता ढकालले बताए । उनले भने, “गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ सङ्ख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य हो ।”

लागुऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले व्यापकरूपमा कडाइ गर्न थालेको केन्द्रीय प्रहरी प्रवक्ता ढकालको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!