Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २६ गते ।

मधेश प्रदेशबाट गत ६ महिनामा अवैध हतियार सहित २५ जना पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको छ महिनामा प्रदेशका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ ।

‘अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । यसबाट हतियारधारी समूह निस्तेज बनेको छ’, प्रहरीले भनेको छ, ‘यसबाट मुलुकमा शान्ति सुरक्षा कायम राख्न सहज भएको छ । आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन् ।’

प्रहरीका अनुसार प्रदेशभरबाट यस अवधिमा पक्राउ परेका व्यक्तिहरुको साथबाट १४ थान हतियार र ६३ राउण्ड गोली बरामद भएको हो ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको सिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिएको प्रहरीको भनाइ छ ।

अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताए ।

अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान एवम् कारबाही हुने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका उक्त सूचना नेपाल प्रहरीलाई उपलब्ध गराउन र अवैध हतियार बुझाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!