३१ असोज, जनकपुरधाम। हुम्ला जिल्लाको सार्केगर्द गाउँपालिकाको वडा नं १ मा मात्रै पहिरोले १५० घरमा क्षति पुगेको छ ।झण्डै एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको हो । त्यसैगरी वडाभरका कैयौं बस्तीका जग्गा पनि भाँचिन थालेको अधिकारी तथा स्थानीयले जानकारी दिए ।
पहिरोले वडाका पाँच गाउँमा क्षति पुगेको स्थानीय पीडितले जानकारी दिएका छन् ।“केही घर पहिरोको उच्च जोखिममा केही समयदेखि थिए। तर, जोखिम क्षेत्रबाट टाढा रहेका ठाउँमा पनि क्षति पुगेको छ । कतिपय क्षेत्रमा जग्गा कटान सुरु भएको छ, अन्य ठाउँमा पनि जोखिम बढेको छ,’ वडाको जैरे गाउँका पहिरो पीडित रुपलाल रावतले भने ।अहिले पूरै वडा पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

“भत्केका घरका अवशेष पहिरोमा पुरिएको देख्न सकिन्छ। पीडितहरू तारपालमुनि वा आफन्तको घरमा बस्न बाध्य छन्। यो वडाले भोगेको सबैभन्दा ठूलो क्षति हो,’ वडाका पूर्वअध्यक्ष गोकुल बुढाले भने ।प्रहरीले पीडितसम्म पुगेर विवरण सङ्कलन थालेको तर क्षतिको ठोस विवरण आउन बाँकी रहेको स्थानीय सरकारले जानकारी दिएको छ ।
यसैबीच, दिन बिताउन विभिन्न समस्या भोग्नुपरेको पीडितले भने रात बिताउन झनै कष्टकर भएको गुनासो गरेका छन् । खानेकुरा र लत्ताकपडा पाएको जानकारी दिँदै पीडितहरूले टाउको बस्नको लागि उपयुक्त ठाउँको आवश्यकता रहेको बताए ।