सामाजिक फीड-
जनकपुरधाम, माघ २३ गते ।
सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै एउटा ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । जस मध्ये घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय बैधनाथ पटेल घाइते छन्।
त्यस्तै, मलंगवा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर ७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।
सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलंगवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।