सामाजिक फीड,
पाकिस्तान । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौँ आक्रमण भइसकेका छन् ।
चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेको खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले बताए । साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको यो घटनामा १० सुरक्षाकर्मीको मृत्यु भएको हो । डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् ।
खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षौँदेखि पाकिस्तानी तालिवान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्षित गर्ने गरेका छन् ।