सामाजिक फीड
जनकपुरधाम , माघ १९ गते ।
अमेरिकाको ई–डिभी लट्रीको भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमध्ये पाँच जना मधेश प्रदेशकै रहेका छन् ।
धनुषा घर भएका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भएकी ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भएकी रोना गुरुङ, ललितपुर घर भएका २५ वर्षीय सञ्जय महर्जन, चितवन घर भएका २५ वर्षीय सुमन ढकाल, सिराहा घर भएका २९ वर्षीय सक्षम अर्याल, सर्लाही घर भएका ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भएका २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही घर भएका २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेका हुन् ।
प्रहरीले अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
उनका अनुसार सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जन लगायतको संलग्नता खुलेको थियो ।
त्यसपछि प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०२४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।