Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ १९ गते ।

सर्लाहीमा एकजना ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–३ घर भएका महतोमाथि कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख इन्सपेक्टर मदन थापाले जानकारी दिए।

उनका अनुसार रौतहटको राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोमाथि छुरा प्रहार गरेका हुन् ।

कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न कार्यालयभित्र छिरेका महतोमाथि देमानले छुरा प्रहार गरेका थिए ।

देमान पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकल चढेर आएका थिए ।

महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा उनलाई प्रहरीले तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखेको छ ।

छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!