Samajik Feed – News Portal from Nepal

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो ।

बुधबार नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्ष जेल सजाय सुनाएको हो । राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित पछिल्लो जेल सजाय सुनाइएको हो । अब खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर भएका छन् ।

मंगलबार भने गोप्य सूचनाको दुरुपयोग गरेको भन्दै साइफर मुद्दामा विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो । त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो ।

खानले आफू सत्तामा हुँदा सन् २०१८ देखि २०२२ सम्म ५ लाख १ हजार अमेरिकी डलर बराबरको सरकारी उपहार बेचेको भन्दै गत अगष्टमा उक्त सजाय सुनाइएको थियो । पछि उक्त सजाय स्थगित भए पनि अन्य मुद्दा चलिरहेको हुँदा उनी जेलमै रहेका थिए । हाल उनी अडियाला जेलमा छन् । पाकिस्तानमा चुनाव नजिकिएसँगै खानविरुद्ध एकपछि अर्को जेल सजाय सुनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!