सामाजिक फीड
जनकपुरधाम, माघ १६ गते ।
भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा शाखा अधिकृत रहेका मिनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले गैरकानुनी रूपमा चार करोड चालीस लाख पन्ध्र हजारभन्दा बढी रकम आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको २०५४ श्रावणदेखि ०७९ जेठसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम फेला परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । यस अवधिमा उनको वैध आय पाँच करोड चौरानब्बे लाख सत्सठ्ठी हजार देखिएपनि कुल सम्पत्ति भने दश करोड तेइस लाख बयानब्बे हजार देखिन आएको उनको भनाइ छ ।
त्यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको छ ।