सामाजिक फीड
जनकपुरधाम, माघ १६ गते ।
मोटरसाइकल चोरीका आरोपित तीनजनालाई सप्तरी प्रहरीले पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षीय सुमित मण्डल र भारतको बिहार मधुवनीका २७ वर्षीय रणवीर यादव र विभस यादव रहेका छन् ।
शुक्रबार राति करिब ११ बजेको समयमा राजविराज–६ स्थित सानिमा बैंक अगाडि पार्किङ गरी राखेको प्र २–०१–००१ प ८६१४ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
प्रहरीले चोरीमा संलग्नको खोजी गर्ने क्रममा सोमबार दिउँसो मण्डललाई कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ८ एमएम लेखिएको गोली १ थानसहित पक्राउ गरिएको थियो ।
न्यौपानेका अनुसार मण्डललाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा आफू र रणवीरले चोरी गरी उक्त मोटरसाइकल भारतमा बिक्री गरेको बयान दिएको प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
मण्डलको बयानको आधारमा प्रहरीले रणवीरलाई खोजतलास गर्ने क्रममा सोमबार राती ८ बजे बिआर ३२ एटी ०१३९ नम्बरको मोटरसाइकलमा विभसलाई राखेर आउँदै गरेको पक्राउ गरेको थियो।
उनको साथबाट लागूऔषध गाँजा ६०२ ग्राम फेला परेको छ ।
पक्राउ परेका तीनैजना उपर हातहतियार खरखजाना, लागुऔषध र चोरीसम्बन्धी मुदामा म्याद लिई थप अनुसन्धान थालेको प्रवक्ता न्यौपानेले बताए ।